आजदेखि वैद्य पक्ष सडकमा

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य पक्षले सरकारविरुद्धमा शनिबारदेखि सडक संघर्ष थाल्ने भएको छ ।शनिबार राजधानीको लाजिम्पाटस्थित होटल ¥याडिसनमा पत्रकार सम्मेलन गरेर सो समूहले सरकारविरुद्ध संघर्षको थालनी गर्ने भएको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षको राजधानीमा गोप्य भेला भएको भोलिपल्ट वैद्य पक्षको शुक्रबार ललितपुरको एक पार्टी प्यालेसमा भएको भेलाले सडक संघर्षको कार्यक्रम तय गरेको स्रोतले बताएको छ ।क्रान्तिकारी जनपरिषद्को नाममा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको स्रोतले जनाएको छ । आगामी जेठ १४ सम्मको समयलाई लक्षित गरी कार्यक्रम तय भएको स्रोतले बताएको छ । आफ्नै पार्टीका उपाध्यक्ष डा.बाबुराम भट्टराई नेतृत्वको सरकार विघटनको माग गर्दै थालिने कार्यक्रममा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषय समेटिएको बैठकमा सहभागी एक कार्यकर्ताले जानकारी दिए । भेलामा माओवादी वैद्य पक्षका नेवा राज्य समिति स्तरका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
वैद्य पक्षले वहसदेखि वहससम्म, विचारदेखि व्यवहारसम्म र अन्तरसंर्घषदेखि वर्गसंर्घषतिर छलाङ हान्ने रणनीति अनुसार संघर्षको कार्यक्रम तय गरेको स्रोतको भनाइ छ । गत फागुन १ गतेको कार्यक्रममा एकरूपता देखिए पनि त्यसपछि अध्यक्ष पक्षले कार्ययोजना बनाएर लैजाने सवालमा उदासिन देखिएको वैद्य पक्षले आरोप लगाएको छ । माओवादी नेवा राज्य कार्यलयमा वैद्य पक्षधर केन्द्रीय सदस्यको दुई दिनसम्म बसेको बैठकपछि राज्य स्तरका कार्यकर्ताहरूको भेला डाँकेका थिए ।संगठनहरूलाई वर्गीकरण गरेर कार्ययोजना गर्ने, पूर्णकालीन कार्यकर्ताको पनि वर्गीकरण गरेर जिम्मेवारी तय गर्ने, ठोस र मूर्तरूपमा केही अभियानका कार्यक्रम सञ्चालन गर्ने र मूलतः सरकार गिराउनको लागि नै पहिलो कार्यक्रम लक्षित गरिने माओवादी वैद्य पक्षका एक नेताले बताए ।सरकारविरुद्ध जनवर्गीय संगठनको तर्फबाट सडक आन्दोलनमा उत्रिन लागेको वैद्य पक्षले सदनबाट पनि प्रधानमन्त्रीको राजीनामा माग्ने जनाएको छ । विश्वस्त स्रोतका अनुसार सरकार विरुद्धमा अन्य दलहरूसग पनि छलफल गरी आन्दोलन गर्ने निष्कर्षमा वैद्य पक्ष पुगेको छ । जनसंविधान निर्माणका लागि जनअभियान सञ्चालन गर्ने, जनताको अधिकार सुनिश्चित गराउनको लागि एक करोड जनताको हस्ताक्षर संकलन गरेर संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाउने पनि वैद्य पक्षको तयारी छ ।माओवादीको अन्तरसंघर्ष सञ्चालनको लागि गत पुसमा सम्पन्न केन्द्रीय समिति बैठकले पारित गरेको विधिअनुसार कार्यक्रम घोषणा गरेर जानका लागि छुट दिएकोले आफ्नो कार्यक्रम पार्टी निर्णय विपरीत नहुने वैद्य पक्षको तर्क छ ।स्रोत:दैनिक पत्र

upcoming nepali movies trailers updates here